यो संवैधानिक व्यवस्थाबाट बहुमत आउँदैन, अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : कांग्रेस सभापति देउवा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले संवैधानिक व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनलाई बाध्यता भनेका हुन् ।

संविधानको यही व्यवस्थाको कारण धेरै मेहनत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेको उनले बताए ।

‘कुनै पनि पार्टीको बहुमत आउन धेरै गाह्रो  छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसैले हाम्रो पार्टीले धेरै मेहनतका बाबजुद बहुमत ल्याउन सकेको छैन । सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ ।

उनले कुनै पनि दलको बहुमत नआउनुमा पार्टीको दोष नभई संविधानमा रहेको व्यवस्थालाई कारण बताए । तै पनि जुझारु भएर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने उनले बताए ।