काठमाडौं, ११ चैत । नेपाल एपिएफ क्लबले सोमबार लुम्बिनी प्रदेशविरुद्ध ७ विकेटको जित हासिल गरेको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित विभागीय टोली एपीएफले ७ बिकेटको जीत हासिल गरेको हो । भैरहवाको एक्ट्राटेक ओभलमा लुम्बिनीले प्रस्तुत गरेको २२४ रनको लक्ष्य एपिएफले ४१.५ ओभरमा तीन विकेट गुमाउँदै सो लक्ष्य पुरा गरेको हो ।
एपिएफका लागि पूर्ण बिकले ११२ बलमा ६ चौका र एक छक्काको मद्दतले अविजित ७२ रनको योगदान गरेका थिए भने रोहितले ९४ बलमा ७ चौकासहित ७१, सन्दीप जोराले अविजित २१, लोकेश बमले २१ र आसिफ शेखले १८ रन बनाएर एपीएफलाइ फराकिलो जीत हासिल गराएका हुन ।
लुम्बिनीका लागि तीनै विकेट राजेन्द्र बमले लिएका थिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २२३ रनको योगफल तयार पारेको थियो ।
जितसँगै आठ खेलमा १२ अंक जोडेको एपिएफ तेस्रो स्थानमा यथावत छ भने पराजित लुम्बिनी ९ खेलबाट ८ अंकका साथ छेटौं स्थानमा कायम छ ।