कुलमान हटाएकोमा सरकारको सर्वत्र आलोचना

 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सर्वत्र आलोचना भएको छ । राजनीतिक दलका नेता, सर्वसाधारण समेत कुलमान हटाउने निर्णयको विरोधमा उत्रिएका छन् । सर्वसाधारणले समेत सामाजिक सञ्जालमा चर्को विरोध गरेका छन् । सर्वत्र विरोध भएपछि सरकार रक्षात्मक अवस्थामा पुगेको छ । सडकमा सरकार र व्यवस्थाविरुद्ध नै आक्रोश पोखिएकै बेला गरेको यो निर्णय निकै अपरिपक्व र गलत भएको टिप्पणी भैरहेको छ ।

मन्त्रिपरिषदमा समेत कुलमानलाई हटाउने नहटाउने भनेर विरोध विवाद भएको छ । गृहमन्त्री रमेश लेखकले कुलमानलाई ‘हटाउन नहुने र यसले परिणाम पनि गलत दिने’ भन्दै प्रतिवाद गरेका थिए । लेखकले कुलमानलाई हटाउँदा सरकारलाई ‘धक्का लाग्ने र अहिलेको परिस्थितिमा सरकारविरोधीहरुलाई बल मिल्ने’ भन्दै विरोध गरेका स्रोतले जनाएको छ । यस्तै अर्थमन्त्री विष्णु पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले पनि ‘अहिले नहटाउँ ‘ भनेका स्रोतले जनाएको छ । तर परराष्टमन्त्री आरजु राणा र उर्जामन्त्री दीपक खड्काले ‘जसरी पनि हटाउनु पर्ने’ अडान राखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसै अनुसार निर्णय गराएका थिए ।

तर कुलमानलाई  हटाउने निर्णयले सञ्जाल मात्रै होइन, सडक र सदन  निकै तातिने देखिएको छ । सञ्जालमा सोमवार बेलुकीदेखिनै विरोध भैरहेको छ भने अब त्यो सडक हुँदै सदन पुग्ने पक्का जस्तै छ । निर्णय लगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कडा आपत्ति जनाएका छन, यसै अनुसार माओवादी सदनमा प्रस्तुत हुने पक्का जस्तैछ । अर्को विपक्षी दल राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले यो विषय संसदमा उठ्ने सञ्चार माध्यममै बोलिरहेका छन् । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत कुलमान हटाउने निर्णयको विरोध गरेका छन् । विश्वप्रकाशले यो विषयमा ‘पार्टीमा सहमति नभएको’ बताएका छन् भने गगनले ‘असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? ‘ भनेर चर्को असन्तुष्टि जनाएका छन् ।

राजनीतिक विश्लेषक गेजाशर्मा वाग्ले, कृष्ण पोखरेलले कुलमान हटाउने निर्णयको  आलोचना गरेका छन् । कुलमान हटाउने निर्णय सरकारका लागि प्रत्युत्यपादक हुन्छ भन्ने धेरैको अनुमान छ । एकातिर सरकारविरोधी मत बढ्दै जानु र अर्कोतिर व्यवस्थाविरोधी थप सक्रिय हुनुकाबीचमा आएको यो निर्णयको प्रभाव कस्तो हुन्छ हेर्न बाँकी छ ।