शिक्षक हुनु केवल पेशा मात्र होइन, यो त सेवा, समर्पण, र समाज परिवर्तन गर्ने पवित्र यात्रा हो।
शिक्षक हुनु केवल पेशा मात्र होइन, यो त सेवा, समर्पण, र समाज परिवर्तन गर्ने पवित्र यात्रा हो।
– ललिता अधिकारी (खुशी)
म एक शिक्षक हुँ, जसले हरेक दिन नयाँ आशा, नयाँ जोश, र नयाँ सपना बोकेर कक्षाकोठामा प्रवेश गर्छु। मेरा विद्यार्थीहरू मेरा प्रेरणा हुन्, तिनको जिज्ञासा मेरो खोजीको विषय हो, र तिनको सफलता मेरो सन्तुष्टि पनि हो।
विद्यार्थीहरू ज्ञान भोका हुन्छन् , तिनको त्यो भोक मेटाउने जिम्मेवारी मेरो हो। म केवल किताबका पानाहरू पढाउने व्यक्ति मात्र होइन, म त जीवनका पाठ सिकाउने एक असल गुरु हुँ। मेरा शब्दहरू प्रेरणाका स्रोत हुन्, मेरा शिक्षण विधिहरू सिर्जनशीलताको बीउ हो जसले विद्यार्थीहरूलाई सोच्न, बुझ्न र लागू गर्न सिकाउँछ।
शिक्षक हुनु केवल पाठ्यक्रम पूरा गराउनु मात्र होइन, यो त सोच्ने क्षमता, विश्लेषण गर्ने सीप, र सिर्जनशीलता विकास गराउनु हो। विद्यार्थीहरूलाई परीक्षा मात्र होइन, जीवनका चुनौतीहरू सामना गर्न योग्य बनाउनु मेरो प्रमुख दायित्व र जिम्मेवारी हो।
प्रत्येक विद्यार्थीहरु फरक-फरक क्षमता लिएर आएका हुन्छन्। म उनीहरूको प्रतिभा चिन्न खोज्छु, उनीहरूलाई आत्मविश्वास जगाउँछु, र भविष्यको मार्ग देखाउन मद्दत गर्छु। कतिपय विद्यार्थीहरू आत्मविश्वासहीन हुन्छन्, कतिपय डराउँछन्, र कतिपयले आफ्नो लक्ष्यसमेत बुझ्न सकेका हुँदैनन्। म उनीहरूलाई केवल पाठ सिकाउने होइन, सपना देख्न सिकाउने र त्यसलाई साकार पार्ने हिम्मत दिने व्यक्ति म हुँ ।
जब मेरो विद्यार्थी जीवनको कुनै ठूला उपलब्धिमा पुग्छ, जब ऊ समाजका लागि केही योगदान दिन्छ, त्यो क्षण नै मेरो लागि सबैभन्दा ठूलो पुरस्कारको क्षण हो।
शिक्षक हुनु सजिलो छैन। कहिलेकाहीँ विद्यार्थीहरूले नबुझ्दा निराशा हुन्छु, समाजले शिक्षणलाई कम महत्त्व दिने प्रवृत्तिले चोट पुर्याउँछ, र कहिलेकाहीँ श्रोत-साधनको अभावले शिक्षणलाई चुनौतीपूर्ण बनाउँछ। तर यी सबै कठिनाइहरूका बाबजुद पनि म हरेक दिन विद्यालय जान्छु, नयाँ उत्साहका साथ विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्छु, र तिनको भविष्य निर्माण गर्न आफ्नो भूमिकामा प्रतिबद्ध रहन्छु।
म शिक्षक हुँ म केवल परीक्षा लिने व्यक्ति होइन, म भविष्य निर्माण गर्ने अभियन्ता हुँ। म केवल किताबका अक्षरहरू पढाउने व्यक्ति होइन, म जीवनका पाठ सिकाउने मार्गदर्शक हुँ।
शिक्षक मात्र हुन्, जसले समाजलाई सभ्य बनाउँछन्। महान् वैज्ञानिक, इन्जिनियर, डाक्टर, नेता, कलाकार यी सबै कुनै न कुनै शिक्षकका विद्यार्थी हुन्। समाज रूपान्तरणको पहिलो खुड्किलो शिक्षालय हो, र शिक्षक त्यसका प्रमुख निर्माताहरू।
विद्यार्थीको हरेक उपलब्धिमा मेरो परिश्रम लुकेको हुन्छ। उनीहरुलेआत्मनिर्भर जीवन जिउन सिकुन, उनिहरुले राष्ट्रको विकासमा योगदान दिन सकुन यही मेरो जिवनको लक्ष्य हो।
मेरो कर्मले विद्यार्थीहरूलाई उज्यालो भविष्य दिन सक्छ। मेरो शिक्षाले समाजलाई रूपान्तरण गर्न सक्छ। मेरा शब्दहरूले परिवर्तन ल्याउन सक्छन्।
किनभने म एक शिक्षक मात्र हैन प्रत्येक विद्यार्थीको भविष्य निर्माण गर्ने मार्गदर्शक हु।
– ललिता अधिकारी (खुशी)