-अर्घाखाची डट्कम सम्बाददाता ।
अर्घाखाँची – अर्घाखाँचीको भुवनपाटामा आज साँझ भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ। २७ जना घाइते भएका छन्।
दुर्घटनामा रुपन्देही बुटवल उप-महाननगरपालिका-८ का ५५ वर्षीया जमुना बस्याल, नवलपरासीको पश्चिम भुमहीकी ४५ वर्षीया उमा न्यौपाने
र पश्चिम बर्दघाट बस्ने अन्दाजी ५0 वर्षीय गाडी चालक मदन कुमार विकको मृत्यु भएको हो। मृतकमध्ये एकजनाको नाम खुलेको छैन।
शितगंगा नगरपालिका-२ सितापुरको भुवनपाटामा लु२ख ३०३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभएको छ।
घाइतेमध्ये ६ जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको छ। अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। गोरुसिंगे सन्धिखर्क सडकखण्डमा सुपा मन्दिर दर्शन गरी नवलपरासीको लागी फिर्ता हुँदै गरेको बस अचानक अनियन्त्रित भई सडकदेखि अन्दाजी २५ मिटर तल खसेको प्रहरीको भनाइ छ।
दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-१२ बस्ने वर्ष ३६ को सन्तोष कडेल सोही ठाउँ बस्ने वर्ष ४ को अमर कँडेल, वर्ष १९ को अरुण भट्टराई, वर्ष ३१ को आशिष अधिकारी, वर्ष २७ की लक्ष्मी अधिकारी, वर्ष ४ की आन्दा अधिकारी, वर्ष १४ को आयान्स अधिकारीलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचार पछि बुटवल लुम्बिनी प्रादेशिक अस्पताल रिफर गरिएको छ।
अन्य घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भइरहेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।