-ललिता अधिकारी (खुसी)
काठमाडौं – नेपालको यो पवित्र भुमिमा फेरि नारा गुञ्जिरहेका छ ‘राजा आऊ, देश बचाऊ!’ देशका सडकहरू भीडले भरिएका छन्, आस्थाका झण्डाहरू फहरिरहेका छन्। राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै युवा, वृद्ध, किसान, व्यापारी सबै आन्दोलनमा छन्। तर, यो आन्दोलनले नेपालको मुटु राजधानीमा प्रदर्शनहरू रक्तरञ्जित बनेका छन्। सडकले कति सन्तानको रगत अङ्गालेको छ? पिताले छोराछोरीको लाशलाई काँध दिनुपर्यो? यो आन्दोलन कसका लागि? के साँच्चै नै यो आन्दोलनले देशलाई नयाँ बाटो देखाउनेछ त?
राजनीतिक अस्थिरता, बेरोजगारी, गरिबी र विदेशी हस्तक्षेपको चपेटामा परेको नेपालमा फेरि एकपटक राजसंस्थाको माग उठ्नु आश्चर्यको विषय होइन। तर, जब घरका दैलोहरू जल्न थाल्छन्, जब निर्दोष नागरिकको रगत सडकमा पोखिन्छ, जब हाम्रा आफ्नै दाजुभाइहरू घाइते भएर अस्पतालको शैयामा छटपटाइरहेका हुन्छन्, तब प्रश्न उठ्छ के यो आन्दोलनले हाम्रो भविष्य सुरक्षित बनाउनेछ? कि फेरि अर्कै एक अधिनायकवादी युगको ढोका खोल्नेछ?
नेपाली जनताले इतिहासमा धेरै संघर्ष व्यहोरेका छन्। २००७ सालको क्रान्ति, ०४६ सालको जनआन्दोलन, ०६२/६३ को लोकतान्त्रिक संघर्ष हरेक आन्दोलनले परिवर्तन त ल्यायो, तर तिनका उपलब्धिहरू किन अलपत्र परिरहे? के हामी फेरि एकपटक रक्तपातमै परिवर्तनको आशा गर्ने? कि अब सहमति, संवाद र शान्तिपूर्ण समाधान खोज्ने?
नेपालका सुपुत्रहरू यो आन्दोलनमा आफ्ना ज्यान गुमाउँदै छन्। कतिले आफ्नो परिवारलाई सधैंका लागि टुहुरो बनाए, कतिका घर जलाइए, कतिका सपना खरानीमा परिणत भए। हाम्रा यी बलिदानको मूल्य के हो? के इतिहासबाट हामीले केही सिक्न सक्दैनौं?
यो मुलुकलाई फेरि रक्तपातको होइन, सुशासनको आवश्यकता छ। राजनीति सधैं परिवर्तनशील हुन्छ, तर शान्ति, स्थायित्व र नागरिकको सुरक्षामा सम्झौता हुनुहुन्न। परिवर्तनको मार्ग हिंसाले होइन, संवादले गर्न खोजौं। नत्र इतिहास फेरि दोहोरिन्छ, र फेरि कोही अर्को नेपाली आमा सन्तान बिहिन हुन्छिन। यसकारण हिंसात्मक आन्दोलन होइन, बुद्धिमत्तापूर्ण मार्ग अवलम्बन गरौं।
राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीहरू र सुरक्षा निकायबीचका झडपहरू उग्र बन्दै गएका कारण एक असल पत्रकारले आफ्नो जीवन गुमाउनुपर्यो।
सत्यतथ्य रिपोर्टिङ गर्ने क्रममा राज्यको चौथो अङ्गका रूपमा परिचित सञ्चार जगतका एक कर्मठ सुपुत्रले आफ्नो ज्यान गुमाउनु परेको खबरले समस्त पत्रकारिता जगत नै शोकमा डुबेको छ। लोकतन्त्रको महत्वपूर्ण आधारभूत तत्व मानिने प्रेस स्वतन्त्रता माथि यसरी प्रहार हुनु भनेको सम्पूर्ण जनतामाथिको प्रहार हो।
यस आन्दोलनमा धेरै प्रदर्शनकारी गम्भीर घाइते भएका छन्। कोही अस्पतालको शैयामा जीवन र मृत्युको दोसाँधमा लडिरहेका छन् भने कोही अझै पनि न्यायको खोजीमा छन्। उनीहरूको पीडा बुझ्ने कोही छैन, सहानुभूति दिनुपर्नेहरूले नै बल प्रयोग गरिरहेका छन्।
जबरजस्ती बन्द, तोडफोड र आगजनीले गर्दा थुप्रै मजदुरहरू बेरोजगार भएका छन्। दैनिक रोटी कमाउनेहरूको हात खाली छ, परिवार भोकै बस्न बाध्य छन्। के आन्दोलन यति हिंस्रक हुनुपर्छ? राजसंस्थाको पक्ष वा विपक्षमा हुनु व्यक्तिगत विचारको विषय हो, तर यसको परिणाम भने सम्पूर्ण नेपाली जनताले भोग्नुपरेको छ। आन्दोलन लोकतान्त्रिक अधिकार हो, तर यसलाई अहिंसात्मक र व्यवस्थित बनाउने दायित्व आन्दोलनकारीहरूको होइन, राज्यको हो।
अब समय आइसकेको छ कि हामी सबैले बुद्धि र विवेकको प्रयोग गरों। सत्तामा रहेकाले जनताको आवाज सुन्ने संवेदनशीलता राखून्, आन्दोलनरत पक्षहरूले पनि अहिंसात्मक मार्ग अपनाउन सकून्। कुनै पनि आन्दोलनको अन्तिम लक्ष्य हिंसा नभई सुधार हुनुपर्छ। पत्रकारजस्ता सत्य तथ्य समाचार खोज्ने व्यक्तिहरूले ज्यान गुमाउनु नपरोस्, निर्दोष नागरिकहरूले अनाहकमा पीडा भोग्न नपरोस्, अनि देश फेरि अर्को द्वन्द्वमा नफसियोस्।
– ललिता अधिकारी (खुसी)
हाल बाघभैरब बोर्डिङ्ग हाई स्कुल, कीर्तिपुर
पाणिनी गाउँपालिका मैदान- ५ बहखोर ,अर्घाखाँची।