काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको पाइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर २० जना घाइते भएको जानकारी दिएका हुन् ।
प्रहरीका अनुसार, गोली लागेर घाइते भएकामध्ये १३ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
राजावादी समूहले गरेको प्रदर्शनका क्रममा गोली लागेर ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो । कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका थिए ।
उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार, शुक्रबार भएको प्रदर्शनमा मात्र प्रहरीले ७४६ राउन्ड अश्रुग्यास हानेको थियो भने १९२ ब्ल्याङ्क राउन्ड फायरिङ गरेको थियो ।
प्रहरीका अनुसार, ५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको छ । यो नेपाल प्रहरीको मात्र विवरण हो, सशस्त्र प्रहरीबाट समेत शुक्रबार गोली चलेपनि त्यसको विवरण सार्वजनिक भएको छैन ।