उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलगत्तै शुक्रबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गर्न घरमै पुगेका एकजना प्रहरी कर्मचारीको बोली अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
जसमा काठमाडौंको हात्तिगौडास्थित रविको घरमा पुगेको प्रहरी टोलीको एक जनाले रविको ‘अन्तिम इच्छा’ सोधेको कुरा अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।
पक्राउ गर्न साधा पोसाकमा पुगेका ती प्रहरी कर्मचारी हुन डिएसपी दीपक खड्का । उनले रवि लामिछानेको ‘अन्तिम इच्छा’ पूरा गर्न दिने भनेपछि विवाद भएको थियो ।
कतै प्रहरीले पक्राउ गरेर ‘इन्कान्टर’ गर्न त खोजेको होइन भनेर रविका सहयोगीले उनलाई र्याखर्याख्ती पारेका थिए । पछि खड्काले पक्राउ पर्नुअघि वकिलसँग सल्लाह गर्ने लगायत अन्तिम तयारीका लागि आफूले त्यसो बताएको स्पष्टीकरण दिएका थिए ।
डिएसपी दीपक खड्का नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पिएसओका रुपमा समेत खटिएका थिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको इन्चार्ज रहँदा उनी कारबाहीमा समेत परेका थिए । त्यतिबेला उनीमाथि आर्थिक प्रलोभनमा परेको गम्भिर आरोप लगाइएको थियो । उनीमाथि ठमेलका बार, नाइट क्लबका व्यापारीहरूसँग पैसा लिने गरेको आरोप लागेको थियो ।