काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री दल नेपाली कांग्रेससँगको सहयात्रा ०८४ को चुनावपछि पनि कायम रहने बताएका छन् ।
बुधबार नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले ०८४ को चुनावपछि पनि दुई ठूलादलबीच सहयात्रा कायमै रहने बताएका हुन् । उनले भोलि नै सरकार परिवर्तन भइहाल्छ कि भन्ने अवस्था नरहेको बताए ।
‘देशका सबैभन्दा ठूला प्रमुख योगदान गरेका इतिहास बोकेका जिम्मेवार पार्टीहरू कम्फर्टेबल मेजोरिका साथ सरकारमा छन् । स्थिरता स्थायित्व छ, यो रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले जे भनिरहेको छु, भोलि सरकार परिवर्तन भइहाल्छ कि भन्ने स्थिति छैन । कमसेकम ०८४ को चुनावसम्म जान्छ । त्यसपछि पनि यो शिलशिला कायम रहन्छ ।’
देशमा दुई ठूला दल एक ठाउँमा भएको र ढुक्क भएर आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने कुरामा अघि बढ्न व्यवसायीलाई उनले आग्रह गरे ।
‘स्थिरता स्थायीत्वको हिसाबमा ढुक्क भएर आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने कुरामा अघि बढे हुन्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले दुई ठूला पार्टी मिलेर सरकार बनाएकाले देशमा तीव्र विकासको अवसर भएको जिकिर गरे ।उनले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने दाबी गरे ।