काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाएर सोधपुछ गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
संसदको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै परियारले पूर्वराजालाई बोलाउनुपर्ने प्रस्ताव गरेका हुन् । कांग्रेस सांसद परियारले बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए ।
‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं,’ पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले भने ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।’
कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको छ । -SP