राष्ट्रपति र प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए नयाँ वर्षको शुभकामना, कसले के भने ?

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडैल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले नयाँ वर्षको शुभकामना दिएका छन् ।

Nepal life insurance

राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता पहिलो सर्त भएको बताएका छन् । उनले आजको दिनमा जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरेका छन् । ’आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु’, उनले भनेका छन् ।

राष्ट्रपति पौडेल कोप-२९ शिखर सम्मेलनलाई सम्बोधन गर्दै - नेपाल लाइभ :: नेपाल लाइभ :: Nepal Live - Independent Digital Media

विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै उनले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवतले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास व्यक्त गरेक छन् ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नयाँ वर्ष, २०८२ उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उहाँले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात गर्दै अगाडि बढ्पर्नेमा जोड दिए ।

उनले शुभकामना सन्देशमा भनेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ र बलियो बनाउन संविधानका कमीकमजोरीलाई संशोधन गर्दै नयाँ कानूनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न सम्बन्धित निकायलाई प्रतिबद्धताका साथ अघि बढन नयाँ वर्षले उत्प्रेरित गर्न सकोस् भन्ने कामनाका साथ नव वर्ष २०८२ को अवसरमा शुभकामना व्यक्त गर्दछु ।’

त्यस्तै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् । अनेकौँ कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने उनको भनाइ छ ।

’राष्ट्रको साझा आकांक्षा साकार पार्न सरकार एक्लैले मेहनत गरेर पुग्दैन, देशभित्र र बाहिर रहेका सबै नेपालीको साझा प्रयास, मेहिनत र योगदानले मात्र हामी यसमा सफलता पाउन सक्छौँ,’ ओलीले भनेका छन् । युवापुस्ता राष्ट्रका सम्भावना भएको उल्लेख गर्दै ओलीले उनीहरूको जोश, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरूलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताएका छन् ।

’मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हामीले हेर्ने मात्र होइन, त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्छ । निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्दछ,’ उनले भनेका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले नयाँ वर्षको शुभकामना दिँदै लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धि जोगाउन लाग्नुपर्ने बताएका छन् । उनले भविष्यमा आउने चुनौतीको सामना गर्न एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

’नेपाली जनताको लामो त्याग, संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट भइ सामना गर्ने दृढ संकल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनुपर्ने बेला आएको छ,’ देउवाले आफ्नो सन्देशमा भनेका छन् ।

उनले यसका लागि आ–आफ्ना दलगत स्वार्थ र सीमानभन्दा माथि उठेर एकताबद्ध भइ अगाडि बढ्न पनि आग्रह गरेका छन् । ’नयाँ वर्ष २०८२ ले हामी नेपालीबीचको एकतालाई अझ बढी मजबुत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायीत्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समृद्ध नेपाल निर्माण गर्ने नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सकोस्,’ देउवाले आफ्नो सन्देशमा भनेका छन् ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समृद्ध राष्ट्र निर्माणका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् । देशको समृद्धि र उज्ज्वल भविष्यका लागि दृढतापूर्वक आफ्ना पाइला अघि बढाउन उनको आग्रह छ । ’हामी गौरवशाली इतिहास बोकेका सार्वभौम नेपाली हौँ, हामीले न्याय, स्वतन्त्रता र समानताका लागि त्याग, तपस्या र बलिदानका कैयौं कीर्तिमान कायम गरेका छौँ, हाम्रो भविष्य पछाडि फर्केर होइन, अगाडि बढेर मात्र उज्यालो बन्न सक्छ’, उनले भनेका छन् ।

प्रचण्डले २०८२ मा आत्मनिर्भर अर्थतन्त्रको विकासमार्फत रोजगारीको सिर्जनासँगै सुशासनका नयाँ मानक स्थापित गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् । लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ सुदृढ लोकतान्त्रिक गणतन्त्र भएको उल्लेख गर्दै उनले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र अग्रगामी परिवर्तन चाहन्छन् भन्ने तथ्य पुनः पुष्टि गर्दै नयाँ संकल्प लिनुपर्ने बताए । २०८२ नयाँ चुनौती र अवसर लिएर आएको उल्लेख गर्दै प्रचण्डले संविधानको पूर्ण कार्यान्वनमार्फत जनअपेक्षा पूरा गर्नेतर्फ ध्यान दिन सबैको ध्यानाकर्षण गराए ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले जनतामा देखिएको असन्तुष्टि, आक्रोश र बढिरहेको निराशाको कारण र निदान खोज्दै सम्बोधन गर्नु राज्यको दायित्व रहेको बताएका छन् ।

नववर्ष २०८२ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देशमा उहाँले जनता खुसी र सुखी भएमा मात्र राष्ट्रिय एकता, आपसी सद्भाव, अमन चयन कायम भई राज्य बलियो हुने धारणा व्यक्त गरेका हुन् । पूर्वप्रधानन्यायाधीश समेत रहनुभएका रेग्मीले सबै विषयको संवाहक शक्ति जनता भएकै कारण लोकतन्त्रमा जनता सर्वोपरि हुन् भनिएको स्मरण गराएका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘नेपालको सामाजिक र राजनीतिक इतिहास हेर्नेे, सम्झने र मनन गर्ने हो भने लाखौँको बलिदान भएको छ, त्यसै जनता सार्वभौम बनेका होइनन् ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षले सबैखाले राजा–रजौटाबाट मुक्ति देओस् भनेर कामना गरेका छन् । साथै उनले अग्रगामी वैकल्पिक शक्तिहरु फस्टाउन् भनेर पनि कामना गरेका छन् । देशमा सुशासन र समृद्धिको ढोका खुलोस् भनेर पनि भट्टराईले शुभकामना दिएका छन् ।
भट्टराईले भनेका छन्, ‘नयाँ वर्षले नेपाली जनतालाई सबै खाले राजा र रजौटाहरूबाट मुक्ति देओस् । अग्रगामी वैकल्पिक शक्तिहरू फस्टाउन् । देशमा सुशासन र समृद्धिको ढोका खुलोस् । नयाँ बर्ष २०८२ वि.सं.को सबैमा हार्दिक शुभकामना !’

 

Nepal life insurance