काठमाडौं । नेपालले आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार तेस्रो जित हासिल गरेको छ । मूलपानीमा भएको आफनो तेस्रो खेलमा नेपालले आज हङकङमाथि नौ विकेटको विशाल जित निकाल्यो ।
१ सय १६ रनको सामान्य लक्ष्य नेपालले मात्रै एक विकेट गुमाएर १३ औं ओभरमा पुरा गर्यो । नेपालका लागि साहिल पटेलले ४२ र कप्तान नरेन भट्ट ३९ रनमा नटआउट रहे । दुवैले समान ८ चौका हाने । नरेनले २३ बलमा आक्रामक ३९ रन बनाए । ओपनर निरज यादव १२ बलमा २३ रन जोडेर आउट भए ।
यस अघि मूलपानीमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ११५ रनमा अलआउट भएको थियो । पाहुना टोली
४७ औं ओभरमा अलआउट हुँदा कप्तान शिव माथुरले अर्धशतक बनाउनुबाहेक अन्य ब्याटरले ठूलो स्कोर गर्न सकेनन् ।
हङकङका लागि आर्यले १३ रन जोड्दा ह्यारी थोमसले १० रनको योगदान दिए । वीर मथुर १२ रन जोड्दै विपिन शर्माको बलमा उनकै हातबाट समातिए ।
युवराज खत्रीले १० ओभरमा मात्र १८ रन खर्चेर ४ विकेट लिए थिए । विपिन शर्माले ३, सन्तोष यादवले २ तथा अशोक धामीले एक विकेट लिए ।