गाजा, ८ बैशाख । गाजा युद्धका क्रममा विगत डेढ वर्षदेखि युद्धका हरेक दृश्य आफ्नो क्यामेराले देखाउने २५ वर्षीय फोटो पत्रकार फातिमा हसौनाको हवाई आक्रमणमा मृत्यु भएको छ ।
यस इजरायली हमलामा परी फातिमासँगै उनका १० आफन्तको पनि मृत्यु भएको छ । गाजामा लगातारको धम्कीको बाबजुद फातिमाले त्यहाँ भएका सबै कुरा आफ्नो क्यामेरामा रेकर्ड गरेकी थिइन् र गाजाको कथा संसारलाई सुनाउन कटिबद्ध थिइन । फातिमालाई यो पहिला नै थाहा थियो कि मृत्यु सधैं नजिक छ तैपनि उनले गाजाका तस्बिरहरू संसार सामु ल्याउन डराइनन् ।
फातिमाले एकपटक सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘यदि म मरेँ भने म ठूलो मृत्यु चाहन्छु। म ब्रेकिङ न्यूज वा समूहमा मात्र नम्बर बन्न चाहन्न। म संसारले सुन्न सक्ने मृत्यु चाहन्छु, एउटा प्रभाव जुन समयसम्म चलिरहन्छ र समय वा स्थानसँग गाड्न नसकिने छवि चाहन्छु।’
उनले यस्तो चाहना मात्र व्यक्त गरेको केही समयमा नै उत्तरी गाजामा रहेको उनको घरमा इजरायली हवाई हमला भएको हो । उनको चाहनाको निकै पीडादायी रूप प्रकट हुन पुग्यो । अझ, फोटो पत्रकार फातिमाको केही दिनमै बिहे हुन लागेको थियो तर त्यो सपनामा नै सिमित भयो ।
समाचार अनुसार यस हवाई आक्रमणमा फातिमा र उनको गर्भवती बहिनीसहित उनको परिवारका १० सदस्यको पनि मृत्यु भएको छ। यस हमलाको बारेमा इजरायली सेनाले भनेका छ कि, ‘इजरायली सैनिक र सर्वसाधारणमाथि आक्रमणमा संलग्न हमासका सदस्यलाई निशाना बनाइएको हो ।’
फातिमाको मृत्यु हुनुभन्दा २४ घन्टा अघि घोषणा गरिएको थियो कि इजरायली आक्रमणको क्रममा गाजामा फातिमा हसौनाको जीवनको बारेमा एउटा फिल्म कान्ससँग सह–निर्माणमा फ्रान्सेली स्वतन्त्र फिल्म महोत्सवमा प्रिमियर गरिनेछ । तर, उनले त्यो अब कहिल्यै देख्न नपाउने भएकी छिन् ।