अर्घाखाँची, २०८१ वैशाख ।
सन्धिखर्क ,अर्घाखाँची, ७ वैशाख । – अर्घाखाँचीको सुपा देउराली मन्दिरमा २०८१ साल फागुन १६ गते सम्पन्न भएको १३औँ साधारणसभापछि दुई महिना बितिसक्दा पनि अझैसम्म मन्दिर संरक्षण समिति गठन हुन सकेको छैन।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा सम्पन्न सो सभाले मन्दिरको संरक्षण र विकासमा सशक्त पहल गर्ने प्रतिवद्धता जनाए पनि कार्यान्वयन पक्षमा स्पष्ट पहल नदेखिएको स्थानीयहरू बताउँछन्।
समितिको अध्यक्ष पदका लागि नेपाली कांग्रेस र नेकपा एमालेबाट आकांक्षीहरूको संख्या धेरै भएकाले आन्तरिक भागबन्डा नमिलिरहेको स्रोतले जनाएको छ। राजनीतिक दलहरूको स्वार्थ र प्रतिस्पर्धाका कारण समिति गठन प्रक्रिया अलमलमा परेको बताइएको छ।
स्थानीय नागरिक र भक्तजनहरू भने मन्दिरको समुचित संरक्षण, व्यवस्थापन तथा विकासका लागि चाँडोभन्दा चाँडो समिति गठन गर्नुपर्नेमा जोड दिइरहेका छन्।
“मुख्यमन्त्री आएर उद्घाटन गर्नु भएको कार्यक्रमप्रति धेरैको आशा थियो, तर समिति नै गठन नहुनु निराशाजनक हो,” एक स्थानीयले प्रतिक्रिया दिए। राजनीतिक तानातानका बीच मन्दिरको नियमित व्यवस्थापन र आगामी योजना प्रभावित हुने देखिएको छ।