काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार परिवर्तनको संकेत गर्दै आफ्नो पार्टी सरकारमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
सिन्धुपाल्चोकको चौतारामा बिहीबार बेलुका वाईसीएल नेपालको पाचौँ जिल्ला सम्मेलनमा उनले केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भइसकेको दाबी गर्दै माओवादी केन्द्र सरकारमा जानुपर्ने परिस्थित आउन सक्ने बताएका हुन्।
‘एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार बिचौलियाहरुले बनाएको पुष्टि भइसकेको छ। बिचौलियाहरू अहिले राष्ट्र बैंक कब्जा गर्न अर्बको डिल गरिरहेका छन्, अहिलेसम्म गभर्नर नबन्नुको कारण यही हो। हामीले ८४ सालसम्म सरकारमा नजाने भनेको हो, तर ओली सरकारले व्यवस्था बचाउन सकेन भने हामी सरकारमा जानुपर्ने हुनसक्छ। त्यतिबेला ८४ पर्खेर बस्नु हुँदैन, सरकारमा गए पनि जनताको काम गर्ने, जनपक्षीय माओवादी धार बनाउने र ८४ को चुनावको तयारी गर्ने काम नै हुन्छ।’ पुनले भने ।
अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादीले अघि सारेको सामन्तवादविरुद्धको विचारले जितेको र देश त्यही बाटोमा हिँडेको दाबी उनले गरे।
उनले भने, ‘२०८४ मा माओवादी देशभर एक्लै चुनाव लड्छौँ र जित्दै छौँ। कांग्रेस–एमालेसँग मिल्दा कमजोर भएका थियौँ, अब त्यो गल्ती हुँदैन। कार्यनीतिक रूपले सहकार्य होला तर रणनीतिक रूपले हामी छुट्टै धारसहितको दल हौँ। वर्गप्रति इमान्दार, धारमा प्रस्ट हुँदै जानेछौँ।’ -SP