काठमाडौँ — नेपाल प्रहरीले पीडितलाई राहत दिने नाममा जोसुकैले पनि राहत संकलनको स्क्याम गर्न सक्ने भन्दै त्यस्ता व्यक्ति र संस्थाहरुबाट सावधान रहन आग्रह गरेको छ । जाजरकोट भूकम्पपछि पीडितहरूलाई राहतका लागि घोषणा गर्ने क्रम सुरु भइसकेको छ भने सरकारले राहत वितरणलाई एकद्वार प्रणालीबाट गर्ने निर्णय गरिसकेको छ । प्रहरीले राहत संकलन गर्ने व्यक्ति वा संस्था आधिकारिक हुन् वा होइनन् भनेर निश्चित भएपछि मात्रै रकम उपलब्ध गराउन आग्रह गरेको हो । ‘भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ-संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला । इन्टरनेट स्क्यामर वा एक्सप्लोइटरहरूबाट सावधान रहन अनुरोध छ,’ प्रहरीले भनेको छ ।