काठमाडौ – सम्पादक समाज नेपालले यस वर्ष गोविन्द वियोगी पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भैरव रिसाल र गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार भरत भूर्तेल (मरणोपरान्त)लाई दिने निर्णय गरेको छ ।
यसैगरी जीवनभर पत्रकारिता पेसा सम्हाली नेपालमा पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएका वरिष्ठ पत्रकारद्वय मणिराज उपाध्याय र मदनमणि दीक्षितलाई सम्मान गर्ने निर्णय पनि आइतबार बसेको समाजको बैठकले गरेको छ ।
अग्रज पत्रकार वियोगीको निधनको वार्षिकीको अवसरमा आगामी माघ २ गते ती पुरस्कार एवम् सम्मान प्रदान गरिनेछ । पुरस्कारको राशि क्रमशः रु २५ हजार र १५ हजार रहेको छ ।
समाजले वरिष्ठ उद्योगपति मोहनगोपाल खेतानद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार विगत चार वर्षदेखि र गोविन्द वियोगी स्मृति ट्रस्टद्वारा स्थापित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार विगत दुई वर्षदेखि प्रदान गर्दै आएको छ ।