घर-घरमा लक्ष्मीको पूजा आराधना गरिँदै

Open photo

काठमाडौं । तिहारको महत्वपूर्ण दिन आइतबार ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना धुमधामसँग गरिँदै छ ।

हरेक वर्ष कात्तिक औंसीका दिन लक्ष्मी पूजा गर्ने गरिन्छ । यस पटक भने आइतबार एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्मी पूजा दीपमालिका परेको छ ।

सरसफाई र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा बिहानैदेखि घर, आगन सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने गरिन्छ । घरका झ्याल, ढोका, कोठा, संघार, कौसी, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो तथा अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाउने गरिन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । आइतबार घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक मान्यता छ ।

आज रातभर बत्ति बालेर जाग्राम बस्ने चलन पनि रहेको छ । युवतीहरू समूह बनाई घर–घरमा भैलो खेल्ने गर्दछन् भने भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ । लक्ष्मी पूजाका लागि गाउँ शहर जतातलतै दीपावली गरी झिलीमिली बनाइएको छ । आजको रातलाई सुख रात्री भन्ने गरिन्छ ।

111