काठमाडौं। नेकपा (एमाले) निकट युवा संगठन युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले आगामी ७ गतेको आन्दोलनमा प्रतिपक्ष कस्तो हुनुपर्छ भन्ने सरकारलाई देखाइदिने बताएका छन् ।
आज (शनिबार) जन सम्पर्क समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले सरकारको अकर्मन्यताको विरुद्ध युवा संघ सडक संघर्षमा आउन लागेको बताएका हुन् । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले जातको नाममा सामाजिक सद्भाव भड्काउने काम गरेको आरोप लगाए । उनले केही मान्छेहरुले अभियान्ताको नाममा लोकतान्त्रिक गणतन्त्रमाथि चुनौति दिन खोजेको बताए ।
‘एउटा जातको नाममा सामाजिक सद्भाव भड्काइन्छ । त्यसको नाइकेको रुपमा सरकारका प्रमुख उभिन्छन् र प्रस्तुति दिइन्छ । धर्मका नाममा सामाजिक सहिष्णुता भड्काइदिन्छ । अभियानका नाम व्यवस्थामाथि चुनौति दिइन्छ,’– उनले भने ।
आगामी मंसिर ७ गते माइतीघरमा युवा संघले लगाएको नाराले सिंहदरबारमा बसेको नालायक सरकार तर्सिने उनको दाबी छ । साथै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न मिथ्या आरोप लगाइएको भन्दै आपत्ति जनाए ।