शोभाखर पन्थी
अर्घाखाँची – एक वर्षपहिलेसम्म मोटरसाइकलको अत्यधिक चाँप भएको अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अहिले फाटफुट मात्रै मोटरसाइकल संचालनमा छन् ।
ट्राफिक प्रहरीले अवैध मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाउन थालेपछि सदरमुकाम सन्धिखर्कमा संचालन हुने मोटरसाइकलमा अप्रत्यासित रुपमा कमी आएको हो ।
एक वर्षपहिलेसम्म दैनिक १५० देखि २०० वटासम्म मोटरसाइकल गुड्ने गरेको सदरमुकाममा हाल करिब ७० देखि ९० वटासम्म मोटरसाइकल संचालन हुँदै आएका छन् ।
एक दशकयता अर्घाखाँचीमा खुलेआम अवैध मोटरसाइकल संचालन हुँदै आएका थिए । राजनीतिक दलहरुको अवैध मोटरसाइकल चालकहरुलाई संरक्षण हुनुका साथै दलका कार्यकर्ताले अवैध मोटरसाइकल संचालन गरेकाले कारबाही गर्न नसकिएको भन्दै प्रशासन र प्रहरीका प्रमुखहरु पन्छिन खोजेको कारण जिल्लाभित्र अवैध र चोरीका मोटरसाइकलहरुले वैधानिकसरह मान्यता पाएका थिए ।
दस महिनाको अवधिमा मात्रै अर्घाखाँचीबाट ५० वटा अवैध मोटरसाइकल नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी सहायक निरीक्षक दयाराम पौडेलले बताए । अवैध मोटरसाइकल नियन्त्रणमा लिंदा सुरुको अवस्थामा निकै चुनौती र धम्कीहरु आए पनि हाल भने अवैध मोटरसाइकल पक्राउ गर्न सहज बन्दै गएको प्रनाउ गुरुङको भनाइ छ ।
प्रहरीले बजार एरियामा ट्राफिक चेकजाँच कडा पारेपछि अवैध मोटरसाइकलहरु ग्रामीण क्षेत्रमा विस्थापित बनेका छन् । सदरमुकाममा अवैध मोटरसाइकल संचालनमा पूर्णतया कमी आए पनि ग्रामीण क्षेत्रमा भने आवश्यक जनशक्ति र साधन श्रोतको अभावमा प्रभावकारी किसिमले काम गर्न नपाएको ट्राफिक प्रमुख पौडेलले बताए ।
अवैध मोटरसाइकल पक्राउ गरी कारबाही गर्न थालेपछि सन्धिखर्कमा मोटरसाइकल शो रुमबाट नयाँ मोटरसाइकल निकाल्नेहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । गत ३ महिनामा मात्रै सन्धिखर्कमा ४० वटा नयाँ मोटरसाइकल ल्याइएको छ ।
१५ देखि २० हजारसम्ममा राम्रो कण्डिसनका मोटरसाइकल पाउदा सन्धिखर्कमा स्कुले विद्यार्थी, बेरोजगार युवाहरुले ठूलो संख्यामा मोटरसाइकल संचालन गर्ने गरेका थिए । मोटरसाइकलको बढ्दो चाप र असीमित गतिका कारण स्थानीय बासिन्दाहरु पटकपटक दुर्घटनाको सिकारसमेत भएका थिए ।
महंगो मूल्यमा मोटरसाइकल किन्नुपर्ने र स-साना बालबालिकाहरु लाई मोटरसाइकल चलाउन अभिभावकले प्रतिबन्ध लगाएपछि हाल दुर्घटनामा कमी आउनुका साथै बालबालिका,वृद्ध तथा अपाङ्ग हरुलाई बाटो काट्न सजिलो भएको स्थानीय बासिन्दाहरुको भनाइ छ ।