राष्ट्रसंघ महासभाले आइभरीकोष्टको राष्ट्रपतिको रुपमा त्यहाँका विपक्षी दलका नेता अलासेन ओटारालाई औपचारिक मान्यता दिएको छ।
आइभरीकोष्टको निर्वाचन आयोगले विवादास्पद राष्ट्रपतीय चुनावमा विपक्षी नेता ओटाराले सत्तारुढ राष्ट्रपति लरेष्ट बाग्बोलाई पराजित गरेको नतिजा सार्वजनिक गरे पनि बाग्बोले सत्ता छाड्न आस्वीकार गर्दै आएका छन्। प्रतिस्पर्धामा रहेका दुवै उम्मेदवारले आफू विजयी भएको दावी गरेपछि अफ्रिकी राष्ट्रिय राजनीतिक तनावग्रस्त बन्दै आएको छ। एक सय बयानब्बे सदस्य रहेको राष्ट्रसंघीय महासभाले विहीबार ओटोरालाई औपचारिक विजयी उम्मेदवारको मान्यता दिने प्रस्ताव पारित गरेको हो।
ओटोराले राष्ट्रसंघका लागि प्रतिनिधिका रुपमा नियुक्त गरेका व्यक्तिलाई औपचारिक प्रतिनिधिको रुपमा पनि मान्यता दिएको छ। राष्ट्रसंघिय सुरक्षा परिषदले यस अघि नै ओटारालाई निर्वाचित नेताको मान्यता दिइसकेको थियो। अन्तर्राष्ट्रिय समुदायले ओटारालाई समर्थन गरेपछि बाग्बोमाथि पद छाड्न दवाव चुलिएको छ।
यद्यपी राज्य नियन्त्रित सञ्चारमाध्यम तथा सेनाले भने बाग्बोलाई समर्थन गरिरहेका छन्। यसैबीच पश्चिम अफ्रिकी केन्द्रीय बैंकले बाग्बोको सरकारलाई दिदै आएको अनुदान कटौती गरेको घोषणा गरेको छ। राष्ट्रसंघले निर्वाचन पछि भड्किएको हिंसामा करीब दुई सय जनाको मृत्यु भएको र सयौंलाई गिरफ्तार गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो।