अर्घाखाँचीमा राजनीतिक दलका नेताहरु जिल्ला विकासका लागि आफ्ना अगुवा कार्यकर्ताहरु जम्मा गरेर छलफलमा जुटे

सन्धिखर्क, अर्खाखाँची – मुलुकका प्रमुख दलका नेताहरु सत्ता प्राप्तिका लागि हानथाप गर्दै तँछाड मछाड गरिरहेको अवस्थामा अर्घाखाँची जिल्लाका राजनीतिक दलका नेताहरु भने जिल्लाको विकासका लागि जिल्लाभरका आफ्ना अगुवा कार्यकर्ताहरु जम्मा गरेर छलफलमा जुटेका छन् ।

 

जिल्ला विकास समितिको आयोजनामा सदरमुकाम सन्धिखर्कमा विहीबारदेखि शुरु भएको इलाका स्तरीय योजना तर्जुमा गोष्ठीमा गाउँगाउँबाट आएका सबै राजनीतिक दलका प्रतिनिधिहरु सँग सिङो जिल्लाको विकासको लागि नयाँ सोंचकासाथ योजनाहरु तयार गर्न थालेको नेताहरुले जनाएका छन् ।

 

लोकतन्त्रको बहाली र गणतन्त्रको स्थापनापछि देशमा उल्लेखनीय विकास हुन नसकेको भनी देशभर नेताहरुप्रति आलोचना भइरहेको अवस्थामा जिल्लाको गाउँगाउँमा सडक पुराएका अर्घाखाँचीवासीहरुले पछिल्लो समयमा गाउँगाउँमा मोबाइल फोन सेवा उच्च मा.वि र क्याम्पसको बिस्तारका साथै अधिकांश ठाउँमा विद्युत् सेवा पुगेपछि आफ्नै घरमा बसेर टेलिभिजन हेर्न र उज्यालोमा बस्न पाएका छन् ।

 

हालसम्म सडक विद्युत् शिक्षामा जोड दिएका स्थानीय पार्टी प्रतिनिधिहरुले यस पटकदेखि खानेपानीलाई प्राथमिकतामा पार्न नेताहरुलाई जोड दिएका छन् । विकास निर्माणका काममा दलीय सहमतिका आधारमा उपभोक्ता समिति निर्माण गरेर काम गर्दा प्रभावकारी काम भएको गोष्ठीमा सहभागीहरुको भनाइ छ ।

 

विकासका कामहरु ठेकेदारबाट गरिनुले भरपर्दो काम हुन नसकेको र जिल्लाका ठूलाठूला योजनाहरुमा सीमित तथा अत्यन्तै न्यून बजेट विनियोजन हुनुले योजना समयमा सम्पन्न हुन नसकेको भन्दै स्थानीय नेताहरुले गुनासो गरेका थिए ।

 

गोष्ठीमा एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का उज्ज्वल, नेपाली कांग्रेसका जिल्ला सचिव बासुदेव आचार्य, नेकपा एमालेका नेता नरेन्द्रकुमार क्षेत्री, जनार्दन खनाल, राजमोका पशुपति ढकाल, राप्रपाका जिल्ला अध्यक्ष देवीबहादुर खड्का, राष्ट्रिय जनशक्ति पार्टीका जिल्ला अध्यक्ष वेदराज घिमिरे, नेकपा एकीकृत क्रान्तिकारीका डिलाराम पाण्डे, स्थानीय शान्ति समितिका संयोजक यमुना भुसाललगायत विभिन्न विषयगत कार्यालयका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

 

गोष्ठी स्थानीय विकास अधिकारी पुण्यविक्रम पौडेलको प्रमुख आतिथ्यता योजना अनुगमन तथा प्रशासकीय अधिकृत धु्रव गिरीको स्वागत मन्तव्य कार्यक्रम अधिकृत हरिश्चन्द भुसालको सहजीकरण र कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालको संचालनमा भएको थियो ।

 

Hari Khanal in Sandhikharka, Arghakhanchi, contributed to this report.



अन्य समाचारहरु