आइभरीकोष्टमा गत महिना सम्पन्न विवादित राष्ट्रपतिय निर्वाचनपछि भड्केको राजनीतिक हिंसाका कारण करिव १४ हजार मानिसले देश छाडेका छन्। उनीहरु राजनीतिक हिंसाका कारण छिमेकी मुलुक लाइवेरियाको शरणमा गएको संयुक्त राष्ट्र संघले जनाएको छ। आइभरीकोष्टमा भड्केको पछिल्लो राजनीतिक हिंसामा परी हालसम्म दुई सय जनाको मृत्यु भैसकेको छ।
गत २८ नोभेम्बरमा सम्पन्न राष्ट्रपतिय निर्वाचनपछि वर्तमान राष्ट्रपति लरेन्ट बाग्बोले आफूलाइ नयाँ राष्ट्रपतिको घोषणा गरेपछि आइभरीकोष्टमा राजनैतिक संकट खडा भएको हो। गत महिनाको राष्ट्रपतिय निर्वाचनमा विपक्षी उम्मेदवार अलासान ओटाराले स्पष्ट जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको थियो। तर आइभरी कोष्टको सम्बैधानिक परिषदले निर्वाचन परिणामलाई उल्टाउदै बाग्बोलाई नयाँ राष्ट्रपति चयनको लागि मार्ग प्रशस्त गरेपछि त्यहाँ राजनैतिक संकट चुलिएको हो।