नयाँ वर्षको पुर्व सन्ध्यामा आतंककारी संगठनहरुले आक्रमण गर्न सक्ने खतरा रहेको भन्दै भारत सरकारद्धारा प्रमुख शहरहरुमा सुरक्षा ब्यवस्था कडा

भारत सरकारले नयाँ वर्षको पुर्व सन्ध्यामा आतंककारी संगठनहरुले आक्रमण गर्न सक्ने खतरा रहेको भन्दै प्रमुख शहरहरुमा सुरक्षा ब्यवस्था कडा बनाएको छ।

 

भारतको आर्थिक राजधानी मुम्बइ लगायत अन्य  प्रमुख शहरहरुमा प्रहरीको तैनाथीलाई बाक्लो बनाइएको छ। यसैगरी भारतको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा रहेको गोआ राज्यस्थित सामुद्रिक किनारा क्षेत्रमा पनि सुरक्षा ब्यवस्था कडा बनाइएको छ। उता भारतका प्रमुख विमानस्थलहरु र रेल स्टेशनमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

 

भारतको गृह मन्त्रालयले गुप्तचर विभागद्धारा जारी प्रतिवेदनलाई अध्ययन र अनुसन्धान गरेपछि विमानस्थल, रेल स्टेशन लगायत प्रमुख शहरहरुको सुरक्षा ब्यवस्थालाई कडा बनाइएको हो। भारतको गुप्तचर विभागले प्रतिबन्धित संगठन लस्कर ए तैबाले भारतमा आक्रमण र विध्वंसको योजना बनाएको खुलासा गरेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको हो। इस्लामिक अतिवादीको रुपमा रहेको लस्कर ए तैबाको प्रशिक्षण स्थल र आधार क्षेत्र पाकिस्तानमा रहेको छ।

 

भारतले पाकिस्तानले लस्कर ए तैबालाई भारत विरोधी कार्यको लागि उक्साउने गरेको र उसलाई मजबूत बन्नको लागि सहयोग र समर्थन समेत दिने गरेको आरोप लगाउँदै आएको छ।

 

सन् २००८ मा मुम्बइमा भएको आतंककारी आक्रमणमा १ सय ६६ जनाको मृत्यु भएको थियो। ३ दिनसम्म आतंककारी लडाकू र भारतिय सुरक्षार्मीबीच भएको भिडन्तमा विदेशी सहित सयौ सर्वसाधारण र सुरक्षाकर्मी घाइते समेत भएका थिए। सो घटनामा १ जना आतंककारीलाई भारतिय सुरक्षाकर्मीले जिउँदै समात्न सफल भएका थिए। भारत सरकारले मुम्बइ आक्रमणमा दोषी रहेका आतंककारीहरु पाकिस्तानी नागरिक रहेको दावी गर्दै आएको छ।