– केशब घिमिरे
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएको छ । नगरपालिका मातहतका सबै कर्मचारीले अब ई–हाजिरी गर्छन । ई–हाजिरीमा हातको ल्याप्चे लगाउन शुरु भएको छ । ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थिति भए, कति बेला बिदा भए सबै देख्न सकिन्छ ।
नगरपालिका भित्र सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको कार्यालय, नगरपालिका भित्रका सबै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।
उहाँले कर्मचारीको अनुपस्थितिको कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस र कर्मचारीहरु कार्यालय समय भित्र कतै जान नसकुन भनेर यो प्रविधि लागू गरिएको जानकारी दिनुभयो ।
बिदाको लागि पनि छुट्टै निवेदन लेखेर कार्यालय प्रमुखसँग पुग्नु पर्दैन । सबै कर्मचारीको लागि छुट्टाछुट्टै पासवर्ड व्यस्था गरिएको छ । त्यहीँबाट आफ्नो बिदाको निवेदन पठाउन सक्छन । त्यहीँ आएको निवेदनको आधारमा बिदा स्वीकृत वा अस्वीकृत भएको सबै यही प्रविधिबाटै गर्न सकिन्छ ।
नगरपालिकाको कार्यालयमा मात्र हैन । सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य सस्थाका कर्मचारी सबै कति जना उपस्थिति भए कति भएनन । समयमा आए आएनन सबै नगरपालिकामै बसेर हेर्न सकिने नगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख विशाल महतले बताउनुभयो ।
सेवाग्राहीलाई मात्र हैन कर्मचारीलाई पनि सजिलो भएको नगरपालिकाका रोजगार शाखा प्रमुख हिरामणी पराजुलीले बताउनु भयो । अब बिदा माग्नैका लागि भनेर नगरपालिकामा आउनु पर्ने बाध्यता हटेको छ ।