-सागर महत
अर्घाखाँची । दूधमा आत्मनिर्भर अर्घाखाँचीमा पछिल्लो समय बजार अभावका कारण किसान तथा उद्योगी मर्कामा परेका छन । दूध तथा दुग्धजन्य पदार्थले बजार नपाउँदा जिल्लामा सञ्चालित उद्योग पनि संकटमा पर्ने देखिएको छ ।
पाणिनि गाउँपालिकाको निगालीमा संचालित जिल्लाकै ठुलो देउराली छुर्पी उद्योगबाट उत्पादित दुग्धजन्य पदार्थले बजार पाउन नसक्दा आर्थिक संकटको सामना गर्नुपरेको छ । करिव २ करोड लगानीमा सञ्चालित उद्योगबाट उत्पादन भएको ७० लाखभन्दा बढीको छुर्पीले बजार नपाउँदा दुध खरिदमा समस्या उत्पन्न भएको सञ्चालक तिलक गैरेको गुनासो छ । पाणिनि गाउँपालिका भित्र रहेका ११ समुह ,सहकारी मार्फत दैनिक ३५ सय लिटर दुध खरिद गर्ने गरेकोमा अहिलेको अवस्थामा दुध खरिद गर्न नसकिने अवस्थामा पुगेको उहाँको भनाइ छ । उद्योगले कार्तिक महिनासम्मको दुधको मुल्य चुक्ता गरेपनि अब भने किसानसंग दुध खरिदमा समस्या आएको सञ्चालक गैरेले बताउनु भयो ।
झापा, काठमाण्डौं, हेटांैडा, पोखरालगायतका शहरमा खपत हुँदै आएको छुर्पी भदौदेखि ठप्प भएको छ । यस्तै करिव ३० क्वीन्टल घिउले पनि बजार पाएको छैन । किसान तथा विभिन्न सहकारी संस्था मार्फत दुधको बजारीकरण गर्न आग्रह गरे पनि ५सय लिटरभन्दा बढी खरिद गर्न नसकेको अर्घाखाँची दुग्ध उत्पादन तथा बिक्री वितरण सहकारीका व्यवस्थापक तिलकराम भुसालले बताउनुभयो ।
हाल जिल्लाभरमा समुह सहकारी मार्फत ८ हजार लिटर दुध संकलन प्रशोधन र बजारीकरण हुने गरेको छ । जसमध्ये मध्ये १ हजार लिटर दुध कपिलवस्तु र गुल्मीमा निर्यात हुने गरेको छ । जिल्लाभरमै बजारमा दुध खपत नहुँदा समस्या भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र अर्घाखाँचीका कार्यालय प्रमुख विष्णु प्रसाद पौडेलले बताउनुभयो । भारतबाट समेत दुध आयात हुँदा यहाँ उत्पादित दध तथा दुग्धजन्य पदार्थले बजार अभावको समस्या झेल्नुपरेको उहाँको भनाइ छ ।
कृषिजन्य उत्पादनमा मात्रै जोड दिँदै आएको सरकाले उत्पादित वस्तुको बजार व्यवस्थापनमा ध्यान नदिँदा समस्या उत्पन्न भएको दुग्ध किसान तथा व्यवसायीले गुनासो गरेका छन् । उत्पादनसँगै बजारीकरणमा पनि जोड दिनसके स्थानीयको जिवनस्तरमा सुधार आउनुका साथै देशमै केही गरौ भन्नेहरुका लागि पनि कृषि पेशा आयआर्जनको मुख्य स्रोत बन्नसक्नेछ ।