पाकिस्तानका लोकप्रिय एवं प्रमुख राजनीतिज्ञ सलमान तासिरको हत्याको अन्तर्राष्ट्रिय जगतमा निन्दा गरिएको छ। अमेरिकी विदेशमन्त्री हिलेरी क्लिंटनले तासिरको हत्याप्रति खेद प्रकट गर्दै उनले पाकिस्तानमा धार्मिक र साम्प्रादायिक सद्भाव बनाइराख्न बिशेष भूमिका खेलेको बताएकी छिन्।
संयुक्त राष्ट्र संघका महासचिव बान कि मूनले तासिरको हत्याले पाकिस्तानले ठूलो क्षति बेहोर्नुपरेको जनाएका छन्। तासिर पंजाव प्रान्तका गर्भनर रहेका थिए। पाकिस्तानमा उनको मृत्युलाई लिएर तनाव विद्यमान रहेको छ। उता सरकारले उनको निधनप्रति आजबाट ३ दिने राष्ट्रिय शोकको घोषणा गरिसकेको छ।
सोही अनुरुप आज पहिलो दिन उनको निधनप्रति शोक मनाउँदै मानिसहरुले उनीप्रति श्रद्धान्जली अर्पण गरेका छन्। तासिर आफ्नै अगरक्षकको गोलिको शिकार भएका थिए। उनी सत्तारुढ पाकिस्तान पिपल्स पार्टी पिपीपीका बरिष्ठ सदस्य समेत थिए। इस्लामाबादस्थित धनाड्यहरुमाझ लोकप्रिय मानिने बजार नजिकै उनको हत्या भएको सञ्चार माध्यमहरुले जनाएका छन्।
तासिरको सुरक्षामा रहेको टोलीमा रहेको एक जनाले नै उनको हत्या गरेको प्रहरीले जनाएको छ। पाकिस्तानमा प्रमुख सत्तारुढ दल मध्ये एकले सत्ता छाडेपछि राजनीतिक संकट गरिरिँदै गएको समयमा प्रभावशाली राजनीतिज्ञ मानिने तासीरको हत्या भएको छ। उनी सत्तारुढ दलका बरिष्ठ र प्रभावशााली नेता मध्ये एक मानिन्थे। गोली प्रहार गरिएपछि अस्पताल पुर्याइएका तासिरको अस्पतालमा मृत्यु भएको थियो।