काठमाडौं । सर्लाहीको बरहथवामा प्राथमिक स्वास्थ्य चौकी स्तरोन्नतिको विषयमा भएको प्रदर्शनका क्रममा मारिएका युवकको शव घटनास्थानमै रहेकाे छ ।
बरहथवा नगरपालिका–६ का करिब २७ वर्षीय जयशंकर साहको शुक्रबार दिउँसो प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। उनी प्रहरीको गोलीले जहाँ ढलेका थिए, भण्डै ४० घण्टासम्म पनि उनको शव (सोही ठाउँ) घटनास्थलमै छ ।
सडकमा लडिरहेको उनको शवलाई सेतो कपडाले छोपेर राखिएको छ। आन्दोलनमा सहभागी नभएका साहलाई टाउकोमा गोली लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो।
मृतकका आफन्त र आन्दोलनरत स्थानीयले विभिन्न माग राख्दै शव उठाउन नमानेकाे सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।