काठमाडौं : नेपालको आर्थिक वृद्धिदर क्रमिकरुपमा सुधार हुँदै जाने संयुक्त राष्ट्र संघले प्रक्षेपण गरेको छ । संयुक्त राष्ट्र संघले बिहीबार सार्वजनिक गरेको ‘वर्ल्ड इकोनोमिक सिचुएसन एन्ड प्रस्पेक्ट्स २०२४’ रिपोर्ट अनुसार गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्र १.९% ले बढेको प्रराम्भिक अनुमान गरेको छ । चालु आर्थिक वर्षमा भने आर्थिक वृद्धिले गति लिँदै कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिदर ४.५% पुग्ने रिपोर्टकोे प्रक्षेपण छ ।
यसैगरी, आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५% पुग्ने प्रक्षेपण संयुक्त राष्ट्र संघले गरेको छ । संयुक्त राष्ट्र संघले गरेको प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) को प्रक्षेपणसँग मिल्दोजुल्दो देखिएको छ । एडीबीले गत सेप्टेम्बरमा सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२३’ रिपोर्टले नेपालको जीडीपी वृद्धिदर चालु आवमा ४.३% रहने प्रक्षेपण गरेको थियो ।
यता, संयुक्त राष्ट्र संघले नेपालको मुद्रास्फीति दर पनि घट्दै जाने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा ७.२% रहेको मुद्रास्फीति चालु आर्थिक वर्षमा ६.१% मा सीमित हुने संयुक्त राष्ट्र संघको प्रक्षेपण छ । यस्तै, आगामी आर्थिक वर्षमा मुद्रास्फीति थप घट्दै ४.४% मा झर्ने रिपोर्टको प्रक्षेपण छ । – एनपि