सडकमा उत्रिएको भीड नियन्त्रणमा लिन प्रहरीलाई गोलीको सहारा, एक हप्तामा तीन युवाको ज्यान गयो

फाइल तस्बिर

– दिपक श्रेष्ठ 

काठमाडौं । सामान्य असन्तुष्टि लिएर सडकमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले गोली चलाउँदा एक सातामै तीन जना युवाले ज्यान गुमाउनु पर्‍यो । ललितपुरको बालकुमारीमा दुई जना र सर्लाहीको बरहथवामा एक युवाको ज्यान गएपछि सरकारको त आलोचना भएकै छ त्यसमाथि प्रहरीको निर्मम रबैयाको पनि सर्वत्र आलोचना भएको छ ।

1

ललितपुरको बालकुमारीमा कोरियाको रोजगारीका लागि जाँच दिन पाउनुपर्ने माग राख्दै सडकमा उत्रिएका युवाहरुको समूहमा प्रहरीले बल प्रयोग गर्दा दुई युवाको ज्यान गयो । दैलेखका सुजन राउतको प्रहरीको कुटाईबाट ज्यान गयो भने अछामका बिरेन्द्र शाहको प्रहरीको गोली लागेर मृत्यु भयो ।

ललितपुरमा दुई युवा मारिएको एक साता नवित्दै उता सर्लाहीको बरहथवामा अर्का युवा प्रहरीको गोलीबाटै मारिए । नगरपालिकामा रहेको अस्पताल सञ्चालनको विषयमा प्रदर्शन गर्न सडकमा उत्रिएको भीड नियन्त्रण गर्न भन्दै प्रहरीले गोली चलाउँदा स्थानीय युवा जयशंकर साहको मृत्यु भयो । ललितपुर र सर्लाहीका दुवै घटना राज्य विरुद्धको कुनै विप्लव थिएनन् नत प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि नै हमला गरेका थिए । तर, प्रहरीले तीन युवालाई ढुकुर मारे झैं मार्यो । जसले प्रहरीप्रतिको जनआक्रोश चुलिएको छ ।

1

यी दुवै घटनामा ज्यानै लिने गरी गोली चलाउनु पर्ने बाध्यकारी अवस्था थियो कि थिएन भन्ने कुरा छानविन आयोगहरुको प्रतिवेदनले प्रष्ट पार्ला नै । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कि भने बाध्यकारी अवस्था नआई प्रहरीले गोली नचलाएको दाबी गर्नुहुुन्छ ।

प्रहरीले सुरुमा प्रदर्शनहरु नियन्त्रण गर्न आफूसँग उपलब्ध साधन श्रोतहरुको प्रयोग गर्ने र बल प्रयोग नै गर्नुपर्ने अवस्थामा पनि सकेसम्म कम क्षति होस् भन्ने निर्देशन गर्ने गरिएको प्रहरी प्रवक्ता कार्की दाबी गर्नुहुन्छ । तर, कहिलेकाँही प्रदर्शनस्थल र सुरक्षाकर्मी एउटै उचाईमा नहुँदा र प्रहरीसँग रहेको हतियार ठूलो हुँदा ताकेको स्थानभन्दा अन्यत्र गोली लागेर असमान्य घटना हुन जाने गरेको उहाँ बताउनुहुन्छ ।

1

ललितपुरको घटना छानविन गर्न पूर्व न्यायाधीशको अध्यक्षतमा आयोग नै बनेको छ भने सर्लाहीको घटना छानविन गर्न पनि गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति गठन गरेको छ । आयोग र समितिले घटनाक्रम र परिस्थितिको बयान गर्दै प्रतिवेदन दिने आफ्नो ठाउँमा छ । तर, मर्नेहरुको क्षतिपूर्ति राज्यले गर्न सक्दैन । त्यसैले सरकार र सुरक्षाकर्मीको पहिलो कर्तव्य नागरिकको ज्यान बचाउने हुनुपर्दछ न कि कुनै पनि बहानामा ज्यान लिने । –  इमेज 

1