कोरियाली प्रायदिपको तनाब उच्च विन्दूमा रहेको बेला उत्तर कोरियाले पुनः विना शर्त दक्षिण कोरियासँग वार्ताको प्रस्ताव अघि सारेको छ। दक्षिण कोरियाले यस अघि पनि प्योङयाङ्गले राखेको वार्ताको प्रस्ताव अस्वीकार गरेको थियो।
उत्तर कोरियाले प्रेसित गरेको विज्ञप्तीमा उत्तर र दक्षिणबीचको वार्तामा कुनै सर्त नराख्ने उल्लेख गरिएको छ। उत्तर कोरियाले वार्ताको प्रस्तावमा कुनै शर्त र स्वार्थ नरहेको स्पष्ट पारे पनि दक्षिण कोरिया आस्वास्त हुन सकेको छैन। दक्षिण कारियाली एकिकरण मन्त्रालयले प्योङयाङ्गको पछिल्लो प्रस्तावलाई सोलले समिक्षा गर्ने बताउँदै वार्ताको लागि उत्तर कोरियाको औपचारिक आग्रह नआएको बताएको छ।
सोलले यस अघि वार्तामा वस्न प्योङयाङ्गले गरेको आग्रहलाई आक्रमक क्रियाकलापको अन्त्य शब्दमा भन्दा व्यवहारमा देखाउन चुनौती दिएको थियो। गत नोभेम्बरमा उत्तर कोरियाले दक्षिण कोरिया माथि गोलबारी गरेपछि कोरियाली राष्ट्रबीचको तनाब उच्च विन्दूमा पुगेको थियो। विवादित टापूमा गरिएको गोलाबारीमा परी दक्षिण कोरियाका दुइ सैनिक र दुुइ गैरसैनिकको मृत्यु भएको थियो।