काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तारको काम आधा मात्र सकिएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजनाको नवलपरासी पूर्वी खण्डमा ४५ प्रतिशत मात्र काम सम्पन्न भएको हो । म्याद सकिन करिब छ महिना बाँकी छँदा आयोजनाको काम आधा बाँकी रहेको सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ साल माघबाट शुरु भएको थियो । त्यसपछि दुईपटक म्याद थपि सकिएको छ । पछिल्लो पटक थपिएको म्याद २०८१ श्रावण सकिँदैछ । आगामी श्रावणसम्ममा ९० प्रतिशत काम हुँदा योजनाको निर्माण काम लगभग सकिने सडक विस्तार आयोजनाले जनाएको छ ।
योजनामा निर्माण सकिएपछि समेत पाँच वर्ष मर्मतको जिम्मा निर्माण कम्पनीको रहने हुँदा उक्त काम करिब १० प्रतिशत मान्दा श्रावणसम्मको प्रगति ९० प्रतिशत हुनुपर्ने बताइएको छ । हालको भौतिक प्रगति हेर्दा म्यादभित्रै सडक विस्तारको काम सम्पन्न गर्न अब मासिक कम्तिमा सात प्रतिशत प्रगति गर्नुपर्ने हुन्छ ।
करिब १७ अर्ब रुपैयाँ लागत लाग्ने यो सडक निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले पाएको हो । गैँडाकोटबाट दाउन्नेसम्म पहिलो खण्ड र दाउन्नेबाट बुटवलसम्म दोस्रो खण्डमा विभाजन गरी सडक निर्माणको काम भइरहेको छ ।
समयमै सडक निर्माणको काम नसकिँदा यस खण्डमा यात्रा गर्ने यात्रु तथा चालकले सास्ती पाएका छन् भने धुलोले राजमार्गका बासिन्दा र व्यवसायी पीडित बनेका छन् ।