अर्घाखाँची : संकटमा गन्धर्वको पुर्ख्यौली पेसा

spot_img

-सागर महत,अर्घाखाँची।

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका अर्घाका गन्धर्व आफ्नो पेसा संकटमा पर्दै गएपछि दैनिकी कसरी चलाउने भन्ने चिन्तामा छन् । तर, आधुनिकता भित्रिएसँगै उनीहरुको रोजगारीको मुख्य श्रोत नै गुम्ने भएपछि दैनिकी चलाउन हम्मेहम्मे परेको छ ।

जिल्लाको एकमात्र गन्धर्व समुदायको बसोबास रहेको अर्घामा केही वर्ष अघि जनता आवास तथा गरिबी निवारण कोषबाट १ करोड भन्दा बढी लागतमा एउटै बस्तीमा २२ घर बनेका छन् । यहाँ बसोबास गर्ने अधिकांश पाका पुस्ताको पेसा नै सारङ्गी रेट्नु, गीत गाउनु त्यसबाट प्राप्त गरेको रकमबाट दैनीकी चलाउने भएता पनि आजभोलि त्यो पेसामा ६ जना मात्र रहेका छन । उनीमध्येका रणबहादुर गन्धर्व गित मार्फत आफ्नो पीडा पोख्नुहुन्छ ।

सारङ्गी रेट्ने र गीत गाउने कला ‘बाजे र बा’ले छाडेर गएको पुर्ख्यौली सम्पत्ति हो । ११ वर्ष अघि गित गाएबापत धान, मकै, कोदो, गहुँ दिने चलन पनि थियो । जसले गर्दा दैनिकी चलाउन सहज थियो । आजभोलि बदलीएको संगितको मोह रेडियो, टेलिभिजन, युटुबमा आएका गीत संगित मोबाइलबाट हेर्न सकिने प्रविधिको विकाससँगै पेसा संकटमा परेको रणबहादुर बताउनुहुन्छ ।

नयाँ पुस्तालाई यो पेसामा रहेर दैनिकी चलाउन गाह्रो हुने भएका कारण विदेश पलाएन भईसकेका छन् । कुनै समय गुजारा गर्ने गतिलो माध्यम बनेको यो पेसा अहिले आएर उनीहरुको लागि बाध्यता बनेको छ । जसले गर्दा पुर्खाले धानेको पेसा बिस्तारै हराउँदै जाने त होईन भन्ने चिन्ता त छदै छ यसको संरक्षण कसले गर्ने भन्ने अर्को प्रश्न पनि । त्यसैले उनीहरुको आर्थिक अबस्थामा सुधारका कार्यक्रम सञ्चालनसंगै गन्धर्व समुदायको पेसा संरक्षणमा स्थानीय निकायले पहल गर्नुपर्ने देखिन्छ ।