काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रव्यापी दबाब अभियान आजदेखि शुरु हुनेछ । पहिलो चरणको अभियान चैत्र २१ गतेसम्म चल्ने रास्वपाले जनाएको छ ।
रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले सुरु गर्न लागिएको अभियान रास्वपाका सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्चीबाट सुरुवात गर्नु हुने भएको हो । मेलम्ची आयोजनाका लागि सिन्धुपाल्चोक–काठमाडौं दबाब यात्राको सांसद सोविता गौतमले अगुवाइ गर्ने बताइएको छ ।
दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्ने छन् । सभापति लामिछानेले भरतपुरको नारायणगढ–पुल्चोक–गोन्द्राङ सडकमा दबाब यात्रा गर्ने पार्टीले जनाएको छ ।
अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन-तीनवटा योजना छनोट गरी २१ योजनामा दबाब दिइने रास्वपाले जनाएको छ । रास्वपाले अभियानका क्रममा पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।