काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले पुँजीगत खर्च हुन नसक्दा मुलुक अगाडि बढ्न नसकेको बताएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट बोल्दै सांसद पाण्डेले यस्तो बताएका हुन्।
‘आर्थिक वर्षको ७ महिना गइसक्यो। तर, यत्तिका समयसम्म २० प्रतिशत पुँजीगत खर्च हुन सकेको छैन। अनि कसरी हुन्छ देशको विकास? कसरी सम्बोधन हुन्छ जनताका समस्या?’, उनले सोधे।
मन्त्रालयगत शीर्षकमा लेखेको बजेट अर्थ मन्त्रालयले स्वीकृति दिन ढिला गरेकाले काम गर्न नसकिएको तर्क गरेर मुलुकलाई अघि बढाउन नसकिने पनि उनले बताए। ‘अब यस सम्बन्धमा स्वयम् प्रधानमन्त्रीले नै आफ्ना मन्त्रीहरूलाई तोकिएका कार्यक्रम कडाइका साथ लागू गर्न र बजेट खर्चन निर्देशन दिनुपर्छ’, पाण्डेले भने। -एनपि