माओवादी केन्द्रले आज जनयुद्ध दिवस मनाउँदै

spot_img

काठमाडौं । माओवादी केन्द्रले आज जनयुद्ध दिवस मनाउँदैछ । २०५१ साल फागुन १ गते सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको हो ।

अघिल्लो वर्ष जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको सरकारले यसपटक भने सार्वजनिक बिदा दिन पाएन । सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा बदर गरेसँगै सरकारले बिदा दिन नपाएको हो । यद्यपी माओवादी केन्द्रले नेतृत्व गरिरहेका देशका कतिपय स्थानीय तहले भने आज बिदा दिएका छन् ।

Nepal: The Maoist Dream Al Jazeera English, 45% OFF

सर्वोच्च अदालतको आदेशलाई चुनौती दिँदै स्थानीय तहका प्रमुखले बिदा घोषणा गरेका हुन् । गोरखाका माओवादी नेतृत्वका पालिकाहरु गण्डकी, अजिरकोट, बारपाक सुलिकोट, भीमसेन थापा र धार्चे गाउँपालिकाले ‘जनयुद्ध दिवस’ का नाममा सार्वजनिक बिदा दिएका छन् ।

यस्तै कालिकोटका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका, महावै गाउँपालिका, पतला गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको सूचना जारी गरेका छन् ।

यसैगरि रोल्पाको रोल्पा नगरपालिका र माडी गाउँपालिका, दाङको बंगलाचुली गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, धादिङको गजुरी नगरपालिका, काभ्रेको चौंरी देउराली गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।

यता, गृह मन्त्रालयले आज सार्वजनिक बिदा नरहेको बताएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को निर्णयअनुसार फागुन १ गते बिदा नरहेको स्पष्ट पार्नुभएको छ ।