काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राप्रपाका मागलाई सरकारले उपेक्षा गरे विद्रोहमा परिणत हुने चेतावनी दिएका छन् ।
बुधवार ४० बुँदे ज्ञापनपत्र सिंहदरबारमा प्रधानमन्त्रीलाई बुझाउँदै जनदबाबका कार्यक्रमको शुभारम्भ गर्दै उनले औपचारिक रुपमा जनदबाबका कार्यक्रम सुरु गरेको बताए
।
लिङदेनले ज्ञापन पत्रमा देशको समसामयिक राजनीति र परिस्थितिको बारेमा उल्लेख गरिएको बताए । उनले देश धेरै नै बिग्रिसकेको बताउँदै अब यही अवस्थामा रहिरहन नसक्ने जिकिर गरे ।
देशलाई नविन सम्झौता गरेर अघि बढाउन आवश्यक रहेको उनको भनाई छ । लिङदेनले सबैले स्थान पाउने गरी अघि बढ्न ज्ञापन पत्रमा सुझाव दिएको बताए ।
अभिभावकीय संस्थाको रुपमा राजसंस्था, सर्वधर्मसमभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुनुपर्ने आफूहरुको माग रहेको उनले जानकारी दिए ।
साथै, धर्मान्तरणलाई निषेध गर्नुपर्ने, जनप्रतिनिधिको संख्यामा कटौति गर्नुपर्ने, प्रदेश तह खारेज गर्नुपर्ने लिङदेनले बताए । – एनपि