दाग लागेको मन्त्रीलाई घर पठाऔं : महामन्त्री थापा

spot_img

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरी राख्नु नहुने बताउनुभएको छ ।

बिहीबार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका कांग्रेसका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरि राख्नु नहुने बताउनुभएको हो ।

महामन्त्री थापाले दाग लागेका मन्त्रीहरुलाई घर पठाउनुपर्ने बताउनुभयो । उहाँले काम गर्न नसक्ने मन्त्रीहरुलाई विश्राम दिनुपर्ने पनि बताउनुभयो । महामन्त्री थापाले काम गर्न नसक्ने वडाअध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताउनुभयो । उहाँले यसो गर्न सकेमा कांग्रेसको शक्ति बढ्ने बताउनुभयो ।

महामन्त्री थापाले २०४६ साल पछाडि सार्वजनिक जिवनमा बसेको मान्छेको सम्पत्ति छानविन गर्नुपर्ने पनि बताउनुभयो । आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरुलाई कारबाही गर्न सकिने उहाँको भनाई छ ।

महामन्त्री थापाले कांग्रेस सरकारमा रहेकाले जनतालाई सुशासन र डेलिभरी दिन सक्नुपर्ने बताउनुभयो ।