काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा महामन्त्री थापाले यी दुई विभाग चल्ने छुट्टै कानुनी प्रावधान भए पनि कार्यकारीको इच्छाअनुसार चल्ने गरेको आशंका रहेको बताए । उनले कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउने गरेको पनि बताए । उनले राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएको आफूसँग प्रशस्त प्रमाण रहेको भन्दै बजारहल्ला नभएर वास्तविकता रहेको दाबी गरे ।
उनले भने, ‘सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान कानुनअनुसार चलेका छन्, अपेक्षा गर्ने कुरा त्यही हो । यी दुई निकायहरु प्रधानमन्त्री कार्यालय मातहत राख्नुपर्ने कारण कानुनी रुपमा चल्ने भन्दा पनि कार्यकारीको इच्छामा उछल्ल छ कि भन्ने आंशका छ । कार्यकारी शक्ति हुनेहरुले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान हतियार बनाउँछन् भन्ने आरोप छ । राजनीतिक दलको प्रतिष्पर्धामा पनि सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान प्रयोग भएका उदाहरणहरु र प्रमाण छन् । बजारका हल्ला मात्रै हुन् भन्ने सक्ने अवस्था छैन । राजश्व अनुसन्धान विभागले राजश्व अनुसन्धानमा अर्थ मन्त्रालयसँग अलग भएर काम गर्दा विभागको उद्देश्यअनुसार काम गर्न अफ्ठ्यारो भएको छ कि छैन ? कानूनमा समय अनुकल संशोधन गर्नुपर्ने भन्नुभएको छ । सम्पत्ति शुद्धीकरण बेनामी उजुरीको आधारमा कसैलाई परेसानी गर्ने माध्यमको रुपमा काम गरेको बुझिन्छ। मुद्दा हेर्ने विषयमा मोलमोलाइ हुन्छ भन्ने सुनिन्छ ।’