ट्यूनिसियाको अन्तरिम सरकारले प्रतिबन्धित सम्पूर्ण राजनीतिक दललाई फुकुवा गर्ने घोषणा गरेको छ। ट्यूनिसियामा राजनीतिक संकट गहिरिँदै जाँदा त्यहाँको अन्तरिम सरकारले सम्पूर्ण राजनीतिक बन्दीलाई आममाफी दिने निर्णय पनि गरेको सञ्चार माध्यमहरुले जनाएका छन्।
अपदस्थ गरिएका राष्ट्रपति जाइन इल अबीदाइन बेन अली सरकारका सदस्यलाई पनि अन्तरिम सरकारमा समावेश गरेको भनी आक्रोश बढी रहेका बेला बिहीवार वसेको मन्त्रिपरिषद्को पहिलो बैठकले यो निर्णय गरेको हो। कानुन मन्त्रीले आममाफी दिनका लागि मन्त्रिपरिषद्मा राजनीतिक बन्दीहरुको सूचि प्रस्तुत गरेका थिए। प्रस्तुत गरिएका राजनीतिक बन्दीलाई आममाफी दिने विषयमा संसदले अनुमोदन गर्ने बताइएको छ।
त्यसैगरी मन्त्रिपरिषद्ले प्रतिबन्धित दललाई मान्यता दिने निर्णय गरेपछि निर्वासनमा रहदै आएका अल नाहदा मुभमेन्टका प्रमूख राचिद अल घानौउची पनि स्वदेश फिर्ता हुने योजनामा रहेको बताइएको छ। त्यसैगरी हिंसात्मक प्रदर्शनका क्रममा मारिएका अठहत्तर जनाको सम्झनामा तिन दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ। बढ्दो बेरोजगारी, मूल्यवृद्धि र भ्रष्टाचार विरुद्ध भएको हप्तौ लामो हिंसात्मक प्रदर्शन पछि तत्कालिन राष्ट्रपति बेन अली देश छाडेर गत शुक्रबार साउदी अरबिया भागेका थिए।