अल्बानियामा सरकार विरोधी प्रदर्शनका क्रममा भड्केको हिंसामा परी ४ जनाको मृत्यु भएको छ। राजधानी टीरानामा हजारौ विपक्षी पार्टी समर्थक प्रदर्शनकारीहरुले भ्रष्ट्राचार र बढ्दो बेरोजगारी बिरुद्ध हिंस्रक प्रदर्शन गरेका हुन्। प्रधानमन्त्रीको कार्यालय बाहिर भएको प्रदर्शनका क्रममा करिब ३० सर्वसाधारण र २५ सुरक्षाकर्मी घाइते भएका छन्। प्रदर्शनकारीहरुले सरकारी भवन, कार्यालय एवं सम्पत्तिमाथि तोडफोड र आगजनी गरेका छन्।
उनीहरुले सरकारसँग तुरुन्तै आम निर्वाचन गराउन पनि माग गरेका छन्। अल्बानियामा सन् २०१३ मा आम निर्वाचन गरिने समयतालिका रहेको छ। विपक्षी पार्टीहरुले गत निर्वाचनमा सरकारले आफ्नो मत चोरेको आरोप लगाउँदै आएका छन्। विरोध प्रदर्शनमा २० हजार भन्दा बढी मानिसहरुको सहभागिता छ। प्रदर्शनकारीले सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याउन थालेपछि प्रहरीले उनीहरुमाथि अश्रुग्यास, प्लाष्टिकको गोली र पानीको फोहरा प्रहार गरेको थियो। प्रदर्शनको क्रममा कति मानिसलाई गिरफ्तार गरिएको छ भन्ने बारेमा भने प्रहरीले केही पनि जानकारी दिएको छैन।
अल्बानिया उत्तर एट्लाण्टिक सन्धि संगठन नेटो सदस्यता प्राप्त यूरोपको सवैभन्दा गरिव राष्ट्रमध्येको एक हो। सो राष्ट्रले हाल यूरोपेली संघको सदस्यता प्राप्त गर्ने प्रयास गरिरहेको छ।