व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै व्यवस्थामाथि संकट : बाबुराम भट्टराई

spot_img

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरुबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको टिप्पणी गरेका छन् ।

बुधवार पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ती गर्नेहरुबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्काउने काम भइरहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रुपमा चित्रण गर्दै उनले प्रधानमन्त्री दाहालले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाए ।

उनले अहिले सरकार बच्चाको खेलजस्तो गरेर बनाउने, गिराउने काम भइरहेको पनि बताए । उनले काँग्रेस, कम्युनिष्ट, माओवादीहरु सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु रहेको बताए । उनले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहने जिकिर समेत गरे ।

आफ्नो पार्टी अरु पार्टीभन्दा उन्नत पार्टी रहेको दाबी गर्दै उनले अरु पार्टीको पुच्छर नबन्ने समेत ठोकुवा गरे । क्रान्तिको नेतृत्व गरेकाहरु नै सरकारमा रहँदा पनि विकास हुन नसकेको भन्दै उनीहरुको निकम्मापन, भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको उनको भनाइ छ ।

अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप समेत लगाए ।- एनपि