काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकार र गठबन्धनले संसद्को बाँकी कार्यकाल पूरा गर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै नेता पौडेलले संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दलहरु मिलेर सरकार बनाइनु स्वभाविक भएको बताए ।
उनले कुनै निश्चित दलसँग मात्रै सत्ता सहकार्य हुनुपर्छ भन्ने नभई संसद्भित्र जुनसुकै दलका बीच पनि सहकार्य हुनु स्वभाविक प्रक्रिया भएको टिप्पणी गरे । बैठकमा बोल्दै उनले छटपटी र बेचैनीले कहीँ नपुर्याउने उनले बताए । ‘यो तहको पीडा, छटपटी, आक्रोश व्यक्त गर्न आवश्यक थिएन । यसलाई सहज र स्वाभाविक रुपमा लिनका लागि, संवैधानिक पहलका रुपमा लिन आग्रह गर्न चाहन्छु,’ उनले भने ।
‘प्रधानमन्त्री दाहालबाट विगतको गठबन्धनका समस्यालाई खुलस्तरुपमा राखेर सहज र संविधान सम्मतरुपमा विकल्प खोज्ने काम भएको छ । यसलाई सबै दलले सहज र स्वभाविकरुपमा लिनुपर्छ’, नेता पौडेलले भने, ‘अहिले प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ । अहिले भएको सहयात्रा जनता र राष्ट्रका समस्यालाई सम्बोधनमा केन्द्रित रहन्छ । यो सरकारले संसद्को बाँकी कार्यकाल पूरा गर्नेछ ।’- एनपि