काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आग्रह गरेका छन् ।
आज (बिहीबार) काठमाडौँमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन जनाउन पुगेका उनले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गराउँदै तत्काल निश्चितसम्मको ऋण मिनाहाको आग्रह गरेका छन् । उनले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गरे । उनले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब गरिब किसानलाई बाँड्ने आँट गर्न आग्रह गरे ।
पूर्व प्रधानमन्त्री भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताएका छन् । लामो समयदेखि मिटरब्याज पीडितहरू देशका विभिन्न ठाउँबाट राजधानीमा आएर न्यायको माग गरिरहेका छन् ।
उनीहरूले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै सरकारप्रति असन्तुष्टि समेत जनाएका छन् । सरकारलाई दबाब दिन गत माघ १६ गते पूर्व मेची र पश्चिम महाकालीबाट एकै पटक न्याय मार्च सुरु गरेका मिटर ब्याज पीडितहरूले धर्ना तथा आन्दोलन गरिरहेका छन् । – एनपि