काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई अघिल्लो गृहमन्त्रीले सहकारी ठगी छानबिन गर्न दिएको निर्देशन कार्यान्वयन हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका छन् ।
नेपाल शिक्षक संघको कार्यक्रममा बोल्दै उनले अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषदमा बस्न पाइँदैन भन्नेहरू नै सरकारमा गएको भन्दै आलोचना गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीको कदमले गलत प्रवृत्तिलाई प्रश्रय दिनु भएको छ । यो भन्दा अघि संसद्मा बालकुमारी घटनादेखि अख्तियारमा बयान दिएकाहरूले छाड्नु पर्छ भनेर भन्नु हुन्थ्यो । उहाँहरूको भनाइ अभियोग लागिसकेपछि कोही मान्छे मन्त्रिपरिषद्मा बस्न पाइँदैन भन्ने थियो ।
तर अहिले मन्त्रीपरिषद्मा केही अभियोग र आरोप लागेका, मुद्दा परेकाहरू हुनुहुन्छ कि हुनुहुन्न । अघिल्लो गृहमन्त्रीले सहकारीमा ठगी भयो, कुन– कुन सहकारीमा अर्बौ ठगी भयो भनेर छानबिन गर्न अघिल्लो गृहमन्त्रीले निर्देशन दिनु भयो । त्यो निर्देशन कार्यान्वयन गराउने अवस्थामा वर्तमान गृहमन्त्री हुनुहुन्छ कि हुनुहुन्न ।
‘धोका खाने जति कुनै दिन एक ठाउँमा आए सरकारको व्यवस्था आफै हुन्छ’
महामन्त्री शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताएका छन् । उनले कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताएका हुन् । ‘कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्याउनेतर्फ लाग्दैन । कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिनेछ । धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफै हुन्छ’, उनले भने ।