ट्यूनिसियामा अन्तरिम सरकारका प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुको राजिनामा माग गर्दै प्रदर्शन


 

ट्यूनिसियामा हजारौको संख्यामा प्रहरी, वकिल र विद्यार्थीले अन्तरिम सरकारमा समावेश अपदस्थ सरकारका सदस्यहरु र प्रधानमन्त्रीको राजिनामा माग गर्दै राजधानी ट्यूनिसमा प्रदर्शन गरेका छन्। शनिवार भएको प्रदर्शनमा करिब दुइ हजार प्रहरी अधिकारी सहभागी भएको सञ्चारमाध्यमले जनाएका छन्।

 

सो प्रदर्शनमा राष्ट्रिय सुरक्षा गार्ड र अग्नी नियन्त्रण विभागका कर्मचारीहरु पनि सहभागी भएको जनाइएको छ। राजधानी ट्यूनिसको मुख्य सडक हाबिब बोर्गुइबस्थित प्रधानमन्त्री मोहमेद घानौउचीको कार्यलय अगाडि हजारौ प्रदर्शनकारी भेला भइ प्रदर्शन गरेका थिए। जनवरी चौध तारिखमा लामो समयदेखि शासन सत्ता सम्हाल्दै आएका तत्कालीन राष्ट्रपति बेन अलीलाई हप्तौ लामो प्रदर्शनको बलमा सत्ताच्यूत गरेपछि भएको यो पछिल्लो प्रदर्शन हो। बढ्दो बेरोजगारी, मुल्य वृद्धि र भ्रष्टाचार विरुद्ध भएको हप्तौ लामो सरकार विरोधी प्रदर्शन पछि राष्ट्रपति बेन अली देश छाडेर साउदी अरबिया भागेका थिए।

 

राष्ट्रपति बेन अलीे पलायन पछि गठन भएको नयाँ अन्तरिम सरकारमा पनि पुराना प्रधानमन्त्री र मन्त्रीहरुले निरन्तरता पाएको भन्दै पुनः प्रदर्शन भएको हो। प्रदर्शनकारीले अपदस्थ राष्ट्रपति बेन अली सरकारका सदस्यहरुले अन्तरिम सरकारबाट राजिनामा दिनु पर्ने माग राखि प्रदर्शन जारी राखेका हुन्।