काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिती १९.९ प्रतिशतले वृद्धि भई साढे १८ खर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रस्तुत गर्दै कूल विदेशी विनिमय सञ्चिती माघ मसान्तमा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको जनाएको छ ।
२०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।
कूल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०८० असार मसान्तमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा २०८० माघ मसान्तमा १४.२ प्रतिशतले वृद्घि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको छ ।