मध्यपूर्व शान्ति वार्तासँग सम्बन्धित दस्तावेज सार्वजनिक गरेको अल जजिरा टेलिभिजनको दावी


 

 

अल जजिरा टेलिभिजनले मध्य पूर्व शान्ति वार्तासँग सम्बन्धित गोप्य दस्तावेज सार्वजनिक गरेको दावी गरेको छ। सार्वजनिक गरेको दस्तावेजमा प्यालेष्टिनी वार्ताकारहरु प्यालेष्टिनी भूमिमाथिको इजरेलको अबैध कब्जालाई सहन गर्न तयार रहेको भनिएको छ। अल जजिराका अनुसार सन् २००८ मा प्यालेष्टिनी वार्ताकारहरुले गोप्य तवरले पूर्वि जेरुसलेममा इजरेलले गरेको अबैध कब्जालाई स्विकार गर्न इजरेली नेताहरुसँग सहमत जनाएका थिए।

 

पूर्वि जेरुसलेमलाई प्यालेष्टिनीहरु आफ्नो भविष्यको राजधानी मान्दै आएका छन्। अल जजिराले सन् दुई हजारदेखि सन् दुई हजार दशकाबीच मध्य पूर्व शान्ति प्रकृयासँग सम्बन्धित  सयौै दस्तावेजहरु आफूसँग भएको बताएको छ। उसले प्यालेष्टिनी पक्षले इजरेल र अमेरिकासँग भएको गोप्य वार्ताको हजारौ रेकर्ड आफूसँग भएको खुलासा गरेको छ।

 

ती गोप्य रेकर्डहरु हालसम्म सार्वजनिक हुन पाएको छैन। अल जजिराको दावीलाई अन्य अन्तरराष्ट्रिय संचार माध्यमहरुले भने स्वतन्त्र रुपले पुष्टि गर्न सकेका छैनन्। उता प्रमुख प्यालेष्टिनी वार्ताकार साएब एरेकातले अल जजिराद्धारा खुलासा गरिएको भनिएको दस्तावेजलाई झूठको खेतीको संज्ञा दिएका छन्। अल जजिरासँग कै अन्तरवार्तामा उनले दस्तावेजमा कुनै सत्यता नभएको भन्दै त्यसको भत्सना गरेका छन्।