कर्फ्युको अवज्ञा गर्दै इजिप्टका विपक्षी नेता बारादेई आन्दोलनमा, परिवर्तन अपरिहार्य रहेको भनाइ


 

इजिप्टका विपक्षी नेता एल बारादेइले इजिप्टमा परिवर्तन आवस्यक रहेको बताएका छन्। नोबेल शान्ति पुरस्कार विजेता बारादेइले राजधानी कायरोमा कफ्युको अवज्ञा गर्दै हजारौ प्रदर्शनकारीसँग प्रदर्शनमा सहभागीता जनाएका छन्। इजिप्टको मुक्तिको प्रतिकको रुपमा रहेको ताहरिर स्क्वायरमा सम्बोधन गर्दै बारादेइले परिवर्तन आवस्यक रहेको बताउँदै राष्ट्रपति मुबारकले तत्काल सत्ता छोड्नुपर्ने बताए।

 

उता इजिप्टमा राष्ट्रपतिले सत्ता छाड्नु पर्ने माग गर्दै शुरु भएको प्रदर्शन आज सातौं दिन पनि जारी छ। राजधानी कायरो लगायतका स्थानलाई ठप्प पार्ने गरि प्रदर्शन भएपछि राष्ट्रपति होस्नी मुबारक माथि अन्तर्राष्ट्रिय समुदायको दवाव बढ्दै गएको छ।

 

अमेरिका, बेलायत, फ्रान्स तथा जर्मनी लगायतका देशहरुले होस्नी मुबारकलाई हिंसा रोकेर राजनीतिक सुधारका कार्यक्रम अघि बढाउन आग्रह गरेका छन्। गत मंगलवारबाट शुरु भएको देशब्यापी प्रदर्शनका क्रममा कम्तिमा एक सय जनाको मृत्यु भैसकेको छ। इजिप्टमा बढ्दो गरिवी, बेरोजगारी र मूल्य बृद्धिका कारण आम नागरिक मुबारकको शाशनबाट दिक्क बनेका छन्।