इजिप्टमा राष्ट्रपति होस्नी मुबारकद्वारा आगामी सेप्टेम्बरमा हुने चुनावमा नलड्ने घोषणा गर्दै तत्काल पद त्याग नगर्ने घोषणा


 

अर्घाखाँचीडट्कमलाई जानकारीमा आए अनुसार इजिप्टमा राष्ट्रपति होस्नी मुबारकले आगामी सेप्टेम्बरमा हुने चुनावमा नलड्ने घोषणा गर्दै तत्काल पद त्याग नगर्ने घोषणा गरेका छन । उनको यो भनाइ विपक्षीबाट आयोजना गरेको हडताल पछि सरकारी टिभी मार्फत जनताको नाममा गरेको सम्बोधन आएको हो। साथै उनको उक्त घोषणाको भने विपक्षले अस्विकार गरेका छन।

 

उता यस अगाडिको प्राप्त समाचार अनुसार इजिप्टमा राष्ट्रपति विरुद्धको आन्दोलन जारी छ। इजिप्टको सेनाले राष्ट्रपति होस्नि मुबारकको राजिनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि बल प्रयोग नगर्ने जनाएको छ। प्रदर्शनकारीको माग सही रहेको भन्दै सरकारको समर्थनमा रहेको सेनाले पहिलो पटक यस्तो जनाएको हो।

 

यद्यपी यो भनाइमा सेनाका उच्च अधिकारीहरुको सहमति रहे/नरहेको भन्ने बारेमा अझै स्पष्ट हुन सकेको छैन। यदि यो भनाइप्रति सेनाका उच्च अधिकारीहरु सहमत भएमा मुबारकका लागि ठूलो धक्का हुने कुरामा कुनै शंका नभएको राजनीतिक विष्लेषकहरु बताउँछन्। मुबारक शासन अन्त्यको माग गर्दै भएको देशब्यापी प्रदर्शन आज आठौ दिनमा प्रवेश गरेको छ। प्रदर्शनकारीहरुले देशब्यापी हड्तालको आह्वान गर्दै १० लाखभन्दा बढी मानिसलाइ सडकमा उतारेका छन्। गत मंगलवारबाट शुरु भएको देशब्यापी प्रदर्शनका क्रममा कम्तीमा १ सय जना प्रदर्शनकारीको मृत्यु भैसकेको बताइएको छ।

 

यद्यपी राजधानी कायरोमा रहेका मानवअधिकारवादी संघ संस्थाहरुले हालसम्मको प्रदर्शनका क्रममा मृत्यु हुनेहरुको संख्या बढेर एक सय चौहत्तर पुगेको जनाएका छन्। बढ्दो गरिवी, बेरोजगारी र मूल्य बृद्धिका कारण दिक्क बनेका इजिप्टका नागरिक मुबारक शासन विरुद्ध सडकमा उत्रिएका हुन्। यसैबीच लगातारको प्रदर्शनका कारण इजिप्टमा सुरक्षा अवस्था विग्रदै गएको भन्दै धेरै मुलुकले आफ्ना नागरिकलाई इजिप्टबाट फिर्ता लैजान थालेका छन्।